दमक । प्याब्सन दमक नगर समितिद्वारा आयोजित दुईदिने नगरस्तरीय सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा दमकका विभिन्न आवासीय विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सांस्कृतिक कार्यक्रमअन्तर्गत गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो। गायनतर्फ १२ वर्ष मुनि, १२ वर्ष माथि तथा प्लस–टु तह गरी तीन समूहमा प्रतिस्पर्धा गरिएको थियो भने नृत्यतर्फ देशभक्ति नृत्य, आधुनिक एकल नृत्य, शास्त्रीय नृत्य र सांस्कृतिक नृत्य विधा समावेश गरिएको थियो।
कार्यक्रम दमक–७ स्थित ट्याक्सी स्ट्यान्डको प्राङ्गणमा पौष ४ र ५ गते सञ्चालन भएको हो। कार्यक्रममा दमकका दर्जनौं विद्यालयका विद्यार्थीहरूले आ–आफ्नो कला र प्रतिभा प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएका थिए।
सांस्कृतिक कार्यक्रमको अवसरमा प्याब्सन दमक नगर समितिले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ। पत्रकारिता क्षेत्रमा हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदीप अधिकारी, शिक्षा क्षेत्रमा सनराइज मोडल स्कुलका संस्थापक प्रिन्सिपल जर्नादन मैनाली तथा जनप्रतिनिधितर्फ दमक–९ का वडा अध्यक्ष कुवेर प्रसाद भट्टराई लाई सम्मान गरिएको हो।
त्यसैगरी, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता तथा उपविजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्याब्सन दमक नगर समितिले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि र सांस्कृतिक संरक्षणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।