Logo

September 3, 2026

September 3, 2026 | २०८३-०५-१८

दमक नगर प्याब्सनको ECA प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत

दमक नगर प्याब्सनको ECA प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत

सर्वोदय शिक्षा खबर
भदौ १८, २०८३

दमक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दमक नगर कार्यसमितिद्वारा आयोजित नगरस्तरीय अतिरिक्त क्रियाकलाप (ECA) प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई बुधबार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।

दमक–८ स्थित अर्गानिक सब्जी बजारको सभाहलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने १४० जना विद्यार्थीलाई अबिर, ट्रफी, मेडल तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो।

भाद्र १३ गते सञ्चालन गरिएको प्रतियोगितामा दमकका ३१ वटा निजी विद्यालयका करिब ६०८ विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूको सिर्जनात्मकता, प्रतिभा र अतिरिक्त क्षमताको पहिचान तथा विकास गर्ने उद्देश्यले प्याब्सन दमकले विभिन्न विधामा प्रतियोगिता सञ्चालन गरेको थियो।

कार्यक्रमको अध्यक्षता प्याब्सन दमक नगर कार्यसमितिका अध्यक्ष नवीन योगीले गरेका थिए। कार्यक्रममा दमक नगर शिक्षा समितिका संयोजक तथा दमक–९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। प्याब्सनका केन्द्रीय सदस्य श्रवणकुमार पोखरेल तथा दमक नगर शिक्षा शाखा प्रमुख प्रविण खड्का विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा दमकका विभिन्न निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगर शिक्षा शाखा प्रमुख प्रविण खड्काले प्याब्सनले आयोजना गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरूको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले दमक नगर प्याब्सनले आगामी दिनमा आयोजना गर्ने अतिरिक्त क्रियाकलापका कार्यक्रममा सामुदायिक विद्यालयलाई समेत समेट्नुपर्ने धारणा राखे। सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि यस्ता प्रतियोगितामा सहभागी गराउन उनले प्याब्सनलाई आग्रह गरे।

प्रमुख अतिथि कुबेरप्रसाद भट्टराईले विद्यार्थीको सिकाइ कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित नहुने बताए। यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई पाठ्यपुस्तकबाहिरका विषय तथा व्यवहारिक ज्ञान सिक्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो।

विद्यार्थीहरूले अहिले आफ्ना विद्यालयको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै भट्टराईले भविष्यमा यही अनुभव र क्षमताका आधारमा उनीहरूले दमक नगरको प्रतिनिधित्व गर्ने बताए। विद्यार्थीको प्रतिभा पहिचान र विकासका लागि विद्यालय तथा सम्बन्धित संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रमको सञ्चालन प्याब्सन दमक नगर कार्यसमितिका सचिव लक्ष्मीमणि नेपालले गरेका थिए। पुरस्कार वितरणसँगै प्रतियोगितामा सहभागी विद्यार्थी तथा विद्यालयलाई आगामी दिनमा पनि शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस