तिहार नेपालीहरूको अत्यन्तै महत्वपूर्ण र रमाइलो चाड हो । यो पाँच दिनसम्म मनाइन्छ । त्यसैले यस चाडलाई "यमपञ्चक" पनि भनिन्छ । तिहारको प्रत्येक दिनको आ–आफ्नै विशेष अर्थ र पूजाअर्चनाको परम्परा छ।
तिहारमा घर–आँगन सफा गर्ने, दियो बाल्ने, झिलिमिली बत्तीले सजाउने, देउसी–भैलो खेल्ने, मिठा परिकार बनाउने र आफन्तजनसँग खुशी साट्ने चलन छ । यसले परिवार, समाज र समुदायबीचको सम्बन्ध मजबुत बनाउँछ।
यमपञ्चकको पहिलो दिन काग तिहार मनाइन्छ ।
कागलाई देवता यमराजको सन्देशवाहक मानिन्छ । यस दिन कागलाई मिठा मिठा परिकार खुवाएर पूजा गरिन्छ । काग तिहारले सन्देशवाहकको सम्मान र सन्देशको महत्त्व सम्झाउँछ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइन्छ । कुकुरलाई यमराजको द्वारपाल मानिन्छ । उसको निष्ठा र सुरक्षाको भावनाको कदर गर्दै टीका र माला लगाइदिएर मिठा मिठा परिकारकार खुवाएर पूजा गरिन्छ । यसले निष्ठा, सेवा र कर्तव्यप्रतिको सम्मान सिकाउँछ । यमपञ्चकको तेस्रो दिन गाई तिहार मनाइन्छ ।
गाईलाई हिन्दू धर्ममा गौमाताको रूपमा पूजिन्छ । यस दिन गाईको पूजा गरी घरमा लक्ष्मीको आगमनको कामना गरिन्छ । गाईलाई कृषिजन्य जीवन र समृद्धिको प्रतीक मानिन्छ । यस दिन साँझमा घरघरमा दिपावली गरेर धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । यमपञ्चकको चौँथो दिन गोवर्धन पूजा गरिन्छ । गोरू किसानको मुख्य सहायक जनावर हो । त्यसैले यस दिन गोरूलाई विश्राम दिई माला, टीका र मिठा मिठा परिकार खुवाएर पूजा गरिन्छ । यो दिन श्रमिकको सम्मान र मेहनतको कदरको प्रतीक हो । यस दिन नेवारी समुदायले पनि 'म्ह' पूजा गर्छन् । यमपञ्चकको पाँचौँ दिन भाइटिका मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै टीका र माला लगाएर मिठा मिठा परिकार खुवाउँछन् । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिँदै सधैँभरि रक्षा गर्ने वाचा गर्छन् । यो दिन पारिवारिक स्नेह, आपसी विश्वास र एकताको प्रतीक हो । भाइटिकाको सन्दर्भमा शास्त्रीय प्रमाण पनि भेटिन्छ। यमराज र यमुनाको भेटको सन्दर्भ हिन्दू धर्मका पुराणहरूमा वर्णन गरिएको पाइन्छ । यमराज (मृत्युदेवता) र यमुना उनकी बहिनीबिच धेरै समयदेखि भेट भएको थिएन। यमुनाले बारम्बार दाजु यमराजलाई घरमा आउन निम्तो पठाइन्, तर यमराज मृत्युका काममा व्यस्त भएकाले आउन सकेनन्। अन्ततः एक दिन यमराजले आफ्नो बहिनीको निम्तो स्वीकार गरेर उनको घर पुगे। यमुनाले दाजुलाई स्नान गराइन्, मिष्ठान्न खुवाइन्, माला लगाइन् र टीका लगाइन्। दाजु र बहिनीबिचको प्रेम र ममताले यमराज अत्यन्त प्रसन्न भए र भने “आजको दिन जसले आफ्नी दिदीबहिनीका हातबाटबाट टीका लगाउँछ, उसलाई मेरो लोकको भय र अकालमा मृत्यु हुँदैन।” त्यस दिनलाई नै भाइटीका भनियो, र यही भेटको सम्झनामा आज पनि दिदीबहिनीहरूले आफ्ना दाजुहरूलाई टीका लगाएर दीर्घायु र सुखको कामना गर्छन्।
तिहारले हाम्रो संस्कृति, धर्म र पारिवारिक स्नेहलाई झल्काउँछ । यस पर्वले मानिस र जनावरबिचको सम्बन्धलाई सम्मान गर्छ । काग, कुकुर, गाई, गोरूपूजा गर्दै यिनीहरूको महत्त्व बोध गरिन्छ । दिदीबहिनी र भाइबिचको माया, आत्मीयता र सुरक्षाको भावना विकास गर्ने जस्ता कार्यहरू गरिन्छ । लक्ष्मीपूजाले धन र समृद्धिको प्रतीकका रूपमा श्रम र ईमानदारीको सम्मान गर्छ ।
यसरी, तिहार केवल रमाइलो गर्ने पर्व मात्र होइन, संस्कार, स्नेह, सहकार्य, आध्यात्मिकता र एकताको प्रतीक पनि हो ।